22/11/2026
करारका पक्षहरूले अदालतको क्षेत्राधिकार बाहेक गरी मध्यस्थता छनौट गरेपछि मध्यस्थबाट भएको निर्णय कानूनबमोजिम बदर भएको अवस्थामा बाहेक अदालतको फैसलासरह अन्तिम र बाध्यकारी हुन्छ। मध्यस्थता ऐन, २०५५ को दफा ३० बमोजिम उच्च अदालतले मध्यस्थको निर्णय परीक्षण गर्दा कार्यविधिगत त्रुटि, अधिकारक्षेत्र र सार्वजनिक नीति प्रतिकूलताको सीमामा मात्र सीमित रहनुपर्छ; पुनरावेदनको रोहमा झैँ तथ्य र प्रमाणको पुनः मूल्याङ्कन गर्न मिल्दैन। सार्वजनिक निकायले व्यावसायिक सम्झौता गर्दा सार्वभौम विशेषाधिकार प्राप्त नगरी व्यक्तिसरह समान हैसियतमा रहने हुँदा राज्यकोषमा दायित्व सिर्जना भएकै आधारमा मध्यस्थको निर्णयलाई सार्वजनिक नीति प्रतिकूल मान्न सकिँदैन।
मध्यस्थताको सन्दर्भमा ‘सार्वजनिक नीति’ लाई सङ्कुचित अर्थमा ग्रहण गर्नुपर्छ। भ्रष्टाचार, जालसाजी, फौजदारी कसूरलाई प्रश्रय दिने वा आधारभूत नैतिकता र प्राकृतिक न्यायको घोर उल्लङ्घन भएको अवस्थामा मात्र सार्वजनिक नीति आकर्षित हुन्छ।
त्यसैगरी, उच्च अदालतले मध्यस्थता ऐनबमोजिम स्वच्छ र विधिसम्मत परीक्षण गरिसकेको अवस्थामा सर्वोच्च अदालतले असाधारण अधिकारक्षेत्रको प्रयोग गरी मध्यस्थको निर्णयका तथ्य र प्रमाणको पुनः मूल्याङ्कन गर्न मिल्दैन।
सर्वोच्च अदालत, संयुक्त इजलास
माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
माननीय न्यायाधीश श्री श्रीकान्त पौडेल
त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय, सामान्य प्रशासन महाशाखाको तर्फबाट त्रिभुवन विश्वविद्यालयका नि. रजिष्ट्रार प्रा.डा. महानन्द चालिसे विरुद्ध अनक/कविन्द्र जे.भी. समेत,
बिषय: उत्प्रेषणसमेत।
०८२-WO-१४०८,