25/04/2026
बिएएलएलबी पछि के ? सरकारी जागिर वा निजी प्राक्टिस ?
बिएएलएलबी पछि के ? सरकारी जागिर वा निजी प्राक्टिस ? के गर्दा ठीक हुन्छ ? यो प्रश्न मलाई दिनको एकजना विद्यार्थी वा पूर्वविद्यार्थीले सोधिरहेकै हुन्छन् । मेरो जवाफ सबैलाई एउटै हुन्छ । यदि स्थिर कमाई, अनुमानयोग्य जीवनशैली, सरकारी खर्चमा देश, विदेशको दर्शन र जागिरमा स्थायित्व खोज्ने हो भने सरकारी सेवा । होइन, व्यक्तिगत र पेशागत स्वतन्त्रता, लचिलो कमाई, खुला समाजको आनन्द, सामाजिक/राजनीतिक व्यक्तित्व र अन्तर्राष्ट्रिय एक्सपोजर खोज्ने हो भने निजी प्राक्टिस ।
तर निजी प्राक्टिस सोचेजस्तो सजिलो पहिले पनि थिएन । अहिले त झन् दिनानुदिन यो थप कठिन बन्दै गइरहेको छ । ग्रेडशीटमा जतिसुकै आकर्षक ग्रेड देखिए पनि अहिलेका अधिकांश विद्यार्थीमा फिल्ड स्किल्स पटक्कै छैन । यसमा कलेजले विद्यार्थीको र विद्यार्थीले कलेजको दोष देखाइरहेको स्थिति छ । बिएएलएलबी उत्तीर्ण अधिकांशलाई अझै पनि बिना सहारा एउटा राम्रो र शुद्ध निवेदन लेख्न आउँदैन । पाँच वर्ष पढ्दासम्म नेपालीमा टाइप गर्न आउँदैन । जबकि यो बढीमा एक महिनामा सिक्न सकिने सीप हो । यसका लागि कुनै गुरु चाहिँदैन । सामान्य अनुवाद र भाषा सम्पादन गर्न पनि धेरै छात्रछात्रालाई आउँदैन ।
उनीहरुले ५ वटा वर्ष अंग्रेजी माध्यममा पढ्छन् । तर पासआउट भएपछि ९० प्रतिशत अंग्रेजी काम लाग्दैन । सबै कानुनी कामकारवाही, मस्यौदा नेपालीमै हुन्छन् । त्यसैमा धेरैजति विद्यार्थीहरु जेलिन्छन् । युनिफर्म लगाएर कलेज धाउन्जेल नेपाली भाषा चाहिन्छ भन्ने नै लाग्दैन । तर कलेजको गेटबाट बाहिर निस्केपछि नेपालीबिना पाइलो चल्दैन ।
अहिले निजी प्राक्टिसमा तीव्र प्रतिष्पर्धा छ । यो प्रतिष्पर्धा अस्वस्थ पनि छ । जुन कामको ५० हजार लिन मिल्छ त्यसको अहिले २० हजार लिएर मान्छेले काम गरिरहेका छन् । जुन कामको २० हजार लिन मिल्छ त्यो अहिले ५ हजारमा गरिरहेका छन् मान्छेहरु । एक हजार पर्ने काम तीन सयमा भइरहेको छ । गुणस्तर कसैलाई चाहिएको छैन । सबैलाई खाँचो टरे भएको छ ।
यस्तो घटाघटको जमानामा निजी क्षेत्रमा चल्न र टिक्न गाह्रो छ । कि त असाधारण रुपमा प्रतिभाशाली हुनु प-यो । कि त कानुन व्यवसायमा दह्रो पारिवारिक विरासत हुुनु प-यो । प्रतिभा र सीपबाहेक निजी प्राक्टिसमा अर्को नभई नहुने कुरा हो : सन्जाल अर्थात् पब्लिक रिलेसन्स । जति फराकिलो र व्यापक सन्जाल हुन्छ, हातमा काम आउने सम्भावना त्यति नै बढी हुन्छ । निजी प्राक्टिस वर्ड अफ माउथबाट चल्ने पेशा हो । एउटालाई चित्त बुझ्यो भने अर्कोलाई रिफर गर्छ अनि उसले फेरि अर्कोलाई । यसरी क्लाइन्ट बेस बन्दै जान्छ । अनि काम आउन थाल्यो भने साह्रै लोभलाग्दो गरी आउन थाल्छ ।
निजी प्राक्टिसमा शुरुको १० वर्ष परिचय र संघर्षको चरण हो । त्यसको प्रतिफल ११ औं वर्षदेखिमात्र देखिन थाल्छ । सरकारी सेवामा जस्तो छिर्दाबित्तिकै तलब र वर्षदिन पुग्दासाथ ग्रेड यसमा पाइँदैन । निजी क्षेत्रमा जम्न गाह्रो छ, एकचोटि जमिसकेपछि भने तल ओर्लिनै पर्दैन । यदि समयमै एलएलएम गर्न सकियो भने बिहानको प्राध्यापनबाट महिनाको ५०-६० हजार अतिरिक्त आम्दानी गर्नसकिने ठाउँ पनि अहिले थपिएको छ ।
तर जसको कानुन व्यवसायमा दह्रो पारिवारिक विरासत छैन, जो औसत रुपमा मात्र प्रतिभाशाली छन्, जसको पब्लिक नेटवर्क सानो छ र जोसँग वेटिङ टाइम कम छ, तिनको लागि निजी प्राक्टिस उपयुक्त गन्तव्य नहुन सक्छ । किनकि प्रतिष्पर्धा दिनानुदिन बढ्दो छ । नयाँ नयाँ विकल्पहरु दिनानुदिन तयार भइरहेका छन् । आफूलाई दिनानुदिन परीक्षामा उतार्नुपर्ने चुनौति छ ।
खास गरेर महिलाहरु जसले ३० वर्षको उमेरभित्रै पढाई, पेशा, विवाह, सन्तान सबै कुरा भ्याइसक्नु पर्छ, अन्यथा सोसल डिप्रिसिएसन शुरु हुन थाल्छ, उनीहरुका लागि निजी क्षेत्र विशेष रुपमा कठिन छ । यदि परिवारमा कोही कानुनी पृष्ठभूमिको छ भने भरथेग हुन सक्छ । अन्यथा यो बाटोमा तेर्सोभन्दा उकालो बढ्ता छ । शायद त्यसैले होला स्थिर र सुरक्षित जीवनमार्गको खोजीमा सरकारी सेवाप्रति विशेषगरी युवतीहरुमा आकर्षण बढ्ता देखिएको । मैले धेरै छात्राहरु यस्तो देखेको छु जो बिएएलएलबी गरेपछि निजी प्राक्टिसमै लाग्ने भनेर २–३ वटा लोकसेवा छुटाए । तर झट्टै परिणाम नदेखिने बुझेपछि मन नलागी नलागी फेरि आयोगकै शरणमा गए ।
सरकारी सेवामा गल्ती गरेर पनि सिक्न पाइन्छ । पहिलेका रेकर्ड हेरेर पनि काम थाल्न पाइन्छ । तर त्यो छूट निजी प्राक्टिसमा हुँदैन । एउटै गल्ती भारी पर्न सक्छ ।
त्यसैले कानुनमा स्नातकोपाधिपछि सरकारी सेवामा छिर्ने वा निजी प्राक्टिसमा जुध्ने भन्ने कुरा आ-आफ्नो रुचि, जीवनलक्ष्य, प्राथमिकता, आफ्नो पारिवारिक, आर्थिक र सामाजिक पृष्ठभूमि, आफूलाई उपलब्ध वेटिङ पिरियड, आफ्नो दक्षता र सीपको स्तर, सम्बन्धनिर्माण गर्ने खुबी आदि धेरै कुरामा भर पर्छ । राम्रो गर्न सक्ने र आफूलाई चम्काउन सक्ने ठाउँ दुवै क्षेत्रमा छन् । औसतहरु जता गए पनि पछि नै पर्छन् । त्यसैले आफूलाई कसरी औसतपनको भासबाट निकाल्ने, आफूलाई कसरी उजिल्याउने र तिखार्ने अनि कसरी आफूलाई वर्ल्डरेडी र टाइमप्रुफ बनाउने भन्ने नै मुख्य सवाल हो ।
स्रोत: नारायण शर्मा फेसबुक बाट 🙏