11/03/2026
समानुपातिक निर्वाचन प्रणाली अनुसार सिट बाँडफाँट कसरी हुन्छ ?
मत परिणाम विभाजक सूत्र अनुसार प्रत्येक दलको लागि खसेको मतलाई भाग गर्ने पद्दतिले श्रृङ्खलावद्ध रुपमा भाग गरिनेछ । यस अनुसार प्रत्येक दलले प्राप्त गरेको मत परिणामलाई धेरै भाजकहरुले भाग गरिन्छ (उदाहरण : १, ३, ५, ७, ९ आदि) त्यसरी भाग प्राप्त हुने नतिजालाई दलको भागफल (क्योसेन्ट) भनिन्छ । भागफल प्राप्त भएपछि सीट सङ्ख्याहरु ठूलो भागफलबाट सानोलाई बाँडफाँट गर्दै सीट नसकिँदासम्म बाँडफाँट गरिनेछ । यसरी बाँडफाँट गर्दा कुनै दलले जतिसुकै मत प्राप्त गरेको भए तापनि त्यस्तो दलले सूचीमा सूचीकृत गरेको उम्मेदवार सङ्ख्यामा सीमित रही त्यस्तो दलले प्राप्त गर्ने सीटको बाँडफाँट गरिनेछ । सबैभन्दा पहिले सबै दलले प्राप्त गरेको मतलाई जोडेर कुल सदर मत निकालिन्छ । त्यसपछि प्रत्येक दलले प्राप्त गरेको मत कुल सदर मतको कति प्रतिशत छ भनेर निकालिन्छ ।
हालसम्म गणना भएको १ करोड ३ लाख ९६ हजार २७३ मतमध्ये विभिन्न दलले मत प्राप्त गरेका छन् । उक्त मतलाई कुल सदर मतसँग तुलना गरेर प्रतिशत समेत गणना गरी यसरी राखिएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनले कुल सदर मतको ३ प्रतिशतभन्दा कम मत ल्याउनेलाई समानुपातिक सिट बाँडफाँट नगर्नेगरी थ्रेसहोल्ड निर्धारण गरेको छ । यस अनुसार ती दललाई प्राप्त सदर मत सिट बाँडफाँट प्रक्रियामा समावेश हुँदैन ।
अब तीन प्रतिशत मत कटाउने ६ दलले पाएको कुल मत जोडौँ । यो ९५ लाख ३२ हजार ८८६ हुन आउँछ । यो मत प्रतिशतलाई कुल समानुपातिक निर्वाचनको कुल सिट संख्या ११० ले भाग गर्दा ८६ हजार ६६२ मत हुन आउँछ । यसरी आउने मतलाई भाजक भनिन्छ ।
अब प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनले व्यवस्था गरे अनुसार 'परिणाम विभाजक सूत्र' प्रयोग गरेर प्रत्येक दलले प्राप्त गरेको सिट बाँडफाँट गरिन्छ । पहिलो चरणमा सम्बन्धित दलले पाएको मतलाई भाजकले भाग गरेर पहिलो चरणको सिट संख्या निर्धारण गरिन्छ ।
उदाहरणको लागि रास्वपाले पाएको ४९,८७,७०७ मतलाई उक्त ८६,६६२ ले भाग गर्दा ५७.५६ आउँछ । यस अनुसार पहिलो चरणमा रास्वपाले ५७ सिट प्राप्त गर्छ भने ४७,९७३ मत बाँकी रहन्छ ।
त्यसैगरी, कांग्रेसले पाएको १६,९१,०७६ मतले उल्लेखित भाजक अनुसार १९ सिट प्राप्त गरी ४४,४९८ मत बाँकी रहन्छ ।
एमालेले पाएको १४,०७,९२३ मतले सोही भाजक अनुसार १६ सिट प्राप्त गरी २१,३३१ मत बाँकी रहन्छ ।
नेकपाले पाएको ७,६६,३९२ मतले भाजकले भाग गरेर हेर्दा ८ सिट प्राप्त गरी ७३,०९६ मत बाँकी हुन्छ ।
श्रम संस्कृति पार्टीको ३,५५,७३७ मतलाई भाजकले भाग गरेर हेर्दा ४ सिट प्राप्त गरी ९,०८९ मत बाँकी हुन्छ ।
राप्रपाको ३,२४,०५१ मतलाई भाजकले भाग गरेर हेर्दा ३ सिट प्राप्त गरी ६४,०६५ मत बाँकी हुन्छ ।
अब दलहरूले पहिलो चरणमा प्राप्त गरेको सिट जोडौँ । यसो गर्दा १०७ सिट हुन आउँछ । ११० मध्ये बाँकी ३ सिटलाई जुन दलको धेरै मत बाँकी रहेको छ त्यसमा मध्ये पहिलो क्रमबाट एक/एक सिट बाँडफाँट गर्दै जाने व्यवस्था छ ।
यहाँ बाँकी मतको अवस्था यस्तो छ ।
नेकपा: ७३,०९६
राप्रपा: ६४,०६५
रास्वपा: ४७,९७३
कांग्रेस: ४४,४९८
एमाले: २१,३३१
श्रम संस्कृति: ९,०८९
यहाँ बाँकी ३ सिटमध्ये नेकपा, राप्रपा र रास्वपालाई १/१ सिट थपिने देखिन्छ । यस अनुसार समानुपातिकतर्फ रास्वपाले ५८ सिट, कांग्रेसले १९ सिट, एमालेको १६ सिट, नेकपाले ९ सिट तथा श्रम संस्कृति र राप्रपाको ४/४ सिट प्राप्त गर्ने देखिन्छ ।
यो परिणाम प्राप्त मतको आधारमा हो । अन्तिमसम्मको मतगणनाले यसमा केही फरक पार्नसक्ने सम्भावना हुन सक्छ । खासगरी रास्वपा र कांग्रेसको शेष रहेको मतको अन्तर ३ हजार हाराहारीमा कात्रै रहेकोले कांग्रेसको एकसिट बढ्ने र रास्वपाको १ सिट घट्ने सम्भावना रहन्छ ।
अहिलेकै मतलाई आधार मान्ने हो भने चाहिँ आगामी संसदमा रास्वपाको १२५+५८=१८३ सिट, कांग्रेसको १७+१९=३६ सिट, एमालेको ९+१६=२५ सिट, नेकपाको ८+९=१७ सिट, श्रम संस्कृतिको ३+४=७ सिट र राप्रपाको १+४=५ सिट आउने देखिन्छ । महावीर पुन एकमात्र स्वतन्त्र उम्मेदवारको रूपमा निर्वाचित भएका छन् ।
प्रतिनिधिसभामा रहेको २७५ सदस्यमध्ये दुई तिहाइ पुग्न १८४ सिट चाहिन्छ । यसमा रास्वपासँग एक सिट अपुरो हुन्छ । स्वतन्त्र उम्मेदवार पुनलाई मिलाउने हो भने प्रतिनिधिसभामा रास्वपाको दुई तिहाइ बहुमत हुने देखिन्छ ।