05/06/2026
★ IMP NOTICE
जुन महिनातिर नगरपालिका (市役所) वा पेन्सन कार्यालय (年金事務所) बाट महत्त्वपूर्ण कागजातहरू आउन सक्छन्।
यदि ती कागजातहरू नहेरी राखियो भने, कर वा बीमाको बक्यौता, ढिलाइ शुल्क, तथा भविष्यमा भिसा नवीकरण वा भिसा परिवर्तन गर्दा समस्या हुन सक्छ। त्यसैले प्राप्त भएका कागजातहरू सकेसम्म छिटो जाँच गर्नुहोस्।
■ बसोबास कर (住民税 / जुमिनजेइ)
बसोबास कर भनेको अघिल्लो वर्षको आम्दानीको आधारमा तिर्नुपर्ने कर हो। प्रत्येक वर्ष जुन महिनातिर "जुमिनजेइ निर्णय सूचना (住民税決定通知書)" घर वा कम्पनीमा पठाइन्छ।
धेरैजसो अवस्थामा कम्पनीले तलबबाट स्वतः कटौती गर्छ। तर केही व्यक्तिले आफैं तिर्नुपर्ने हुन्छ। त्यस्तो अवस्थामा कन्भिनी, बैंक वा स्मार्टफोन भुक्तानी मार्फत तिर्न सकिन्छ।
भुक्तानीको समयसीमा नाघेमा ढिलाइ शुल्क (延滞金) लाग्न सक्छ।
कहिलेकाहीँ कम्पनीमार्फत पनि सूचना प्राप्त हुन सक्छ, त्यसैले सामग्री राम्रोसँग जाँच गर्नुहोस्।
■ पेन्सन (年金 / नेन्किन)
२० वर्षभन्दा माथिका व्यक्तिहरूले जापानमा पेन्सनमा अनिवार्य रूपमा सहभागी हुनुपर्छ।
कम्पनीमा काम गर्ने अधिकांश व्यक्तिहरू कोउसेइ नेन्किन (厚生年金) मा सहभागी हुन्छन् र शुल्क तलबबाट स्वतः कटौती हुन्छ।
ध्यान दिनुपर्ने कुरा के हो भने, जागिर परिवर्तन गर्दा वा जागिर छोड्दा केही समय पेन्सनमा नजोडिने (未加入期間) अवस्था हुन सक्छ।
यदि लामो समयसम्म पेन्सन नतिरेको अवस्था रह्यो भने, भविष्यमा स्थायी बसोबास (永住) आवेदन, भिसा नवीकरण वा भिसा परिवर्तन मा असर पर्न सक्छ।
■ स्वास्थ्य बीमा (健康保険 / केन्को होकेन)
स्वास्थ्य बीमा अस्पतालको खर्च कम गर्नका लागि अत्यन्त महत्त्वपूर्ण व्यवस्था हो।
कम्पनीमा काम गर्ने व्यक्तिहरू सामान्यतया सामाजिक बीमा (社会保険) मा सहभागी हुन्छन् र बीमाको रकम तलबबाट कटौती हुन्छ।
यदि कम्पनीको सामाजिक बीमामा सहभागी नभएको अवस्थामा राष्ट्रिय स्वास्थ्य बीमा (国民健康保険) मा सहभागी भई आफैं शुल्क तिर्नुपर्छ।
जुन महिनातिर नयाँ बीमा शुल्क सम्बन्धी सूचना आउन सक्छ।
यदि कुनै कुरा बुझ्न गाह्रो भएमा, आफ्नो कम्पनी, दर्ता सहायता संस्था (登録支援機関) वा नगरपालिका (市役所) मा सकेसम्म चाँडो सम्पर्क गरी जानकारी लिनुहोस्।